- चन्द्र रानाहँछा
हातमा सपनाको फूल
र पाउमा घामको साइत बोकेर
पर्खिरहेछु आँधीको यात्रा … ।
सखारैदेखि
मेरो बिदाइमा
गाइरहेछन् चराहरु
सुसाइरहेछ खोला
भुर्भुराइरहेछ आगो … ।
मलाई लिन
अँध्याराका सहश्र बाँधहरु भत्काउँदै
आउनेछ आँधी ।
कतै अल्मलिएला भनी बाटो देखाउन
मुस्कुराउँदै उदाउनेछ जून ।
म हिँडेपछि –
गृहकार्य गरिरहेकी छोरीलाई
सोध्नेछन् अक्षरहरुले
जीवनको सौन्दर्य ।
एक्लै खेलिरहेको छोरालाई
टक्क रोकिएर बतासले
सोध्नेछ समय ।
साँझपख
आँसु पुछिरहेकी मेरी प्रियतमालाई
जलिरहेको मैनबत्तीले
बुझाउनेछ प्रेमको अर्थ ।
जुनबेला म –
गर्जिरहेको मेघ र रिसाइरहेको चट्याङलाई सम्झाउन
सद्भावको गीत गाउँदै छोइसक्नेछु आकाशलाई ।
काँप्नै लागेको भूकम्प र खस्दै गरेको पहिरोलाई
छेक्न
उज्यालोको लौरो टेक्दै पुगिसक्नेछु क्षितिजमा ।
मसँग –
मेरो हत्केला जो छ
मुठी कस्दा पृथ्वी बन्छ
मुठी खोल्दा आकाश खुल्छ ।
आमा !
यै हत्केलामा कोरिएको बाटोले डोर्याउँदै
एकदिन –
ल्याइपुर्याउनेछ मलाई तिम्रो काखमा ।
राष्ट्रिय कविता प्रतियोगिता- २०७४ : प्रथम कविता - 'आँधीको यात्रा'
Reviewed by https://www.jayasinghmahara.com.np/
on
June 26, 2017
Rating:
No comments: