आजको ब्लगमा के लेख्ने भन्ने एक किसिमको पिरलो दिमागमा खेलिरहेको थियो, तै दिमाग लेख्ने विषय नपाएर रन्थनिइरहेको थियो । फेसबुकमा हेरे एकवर्ष पुरानो फोटो भेट्टाए, जुन म किताब पढ्दै गरेको फोटो थियो । ति फोटोहरु हेर्दा मलाई ति किताब पढ्दाका केही कुराहरु दिमागमा खेल्न थाले, र फोटो खिच्दाका अनुभवहरु पनि । किताबका केही विशेषताहरुले दिमागमा झनै क्लिक गरिरह्यो ।खाजा कटाएर, कैले कैले त कपडा किन्ने पैसाले किताब किनियो । यस्तै यस्तै अनुभवहरु मनमा आए, हावाका झोकाझैं । ति फोटोहरुले दिमागमा नोस्टाल्जिक फिलिङ ल्याइरहेकै बेला लाग्यो, किन म यिं फोटोहरु र फोटोका प्रसंगहरु सेयर नगरुं ? अनि बनाउन थाले केही क्याप्सनहरु...
|
चैतन्य मिश्रलाई चिनाउन आवश्यक परेन । उहाँका अखबारी लेखहरु पढेरै म उहाँको पाठक बनेको हु । पत्रिकाहरुमा मिश्रको 'पुजीवाद र नेपाल' का बारेमा विज्ञापन, समिक्ष अनि विश्लेषण आएपछि यो किताब किन्न मन लागेको हो । यो किताबमा नेपालको अर्थ राजनीतिको व्याख्या मिहिन किसिमले गरिएको छ । नेपालको अर्थ राजनीतिका विविध पाटा बुझ्न चाहानेका लागि यो किताब अत्यन्तै सहयोगी बन्न सक्छ । |
|
राष्ट्रिय सभागृहमा पुस्तक मेला लागेको थियो २०१४ को जनवरीको अन्ततिर । त्यतिखेरका चर्चीत किताबमा एक सुधीर शर्माको 'प्रयोगशाला'को स्थान उच्च थियो । र किनियो, प्रयोगशाला । नेपाली राजनीतिको एक अध्याय माओवादी शसस्त्र युद्ध र २०६२–६३ पछिको परिस्थितिको विश्लेषण गरिएको यसमा भाषिक रुपमा पाठकलाई तान्ने क्षमताको पनि तारिफ नै गर्नुपर्ने हुन्छ । |
|
उपन्यासकार नयनराज पाण्डेको 'लू' र 'उलार'ले पारेको दमदार प्रभाव पछि उहा“का अन्य कृतिहरुको खोजीमा जुटे र भेटे 'घामकिरी' त्यो पनि पाण्डे उपेन्द्रराज मार्फत । यो कृति नयनराज दाजुको सेमी–फिक्सनल अटोवायोग्राफी हो भन्ने उहाकै अन्तरर्वातामा सुनेर थाहा पाएको हु । यो कृतिको पनि आङ्खनै विशेषता छ । पाठकका रुपमा बर्नबिटा र लिम्काको चिसो र बलिउड कल्चरको पछि लागेको पात्र अन्त्यमा 'आफ्नै गाउ फर्कि आए...' पारामा स्वदेश फर्कन्छ । जे होस् देशै प्यारो, नयनदाईको 'पंखा' भएसी यो नपढ्ने कुरै भएन । |
|
|
|
नेपाली कविताहरुका बथानमा केही राम्रा कविता आउने गरेका छन् कैले काही“ । यस्तैमा श्रवण मुकारुङको कविता संग्रह 'बिसे नगर्चीको बयान' औधी रुचाइएको कविता र कविता संग्रह हो । यी फोटाहरु चाही २०७१ सालको दशैंताका घर गएको बेलाको हो । कञ्चनपुर झलारीबाट झण्डै दुइघण्टाको पैदल यात्रा गरेपछी धारापानी भन्ने रमणीय स्थल आउछ, जहा साथीहरुले पिकनिक आयोजना गरेका थिए । झोलामा यो कविता संग्रह बोकेको थिए । सबै आफ्ना आफ्ना तरिकाले रमाइलो गरिरहेका थिए । मैले भने डाडामा बसेर कविता पढेर रमाइलो गरेको थिए, पिकनिक आयोजना गर्ने र मलाई निम्तो दिने अभि दाजुलाई दिलसे धन्यवाद ! |
|
|
जनवरी ११, २०१४ को मेरो फेसबुकमा एउटा फोटो अपलोड भएको थियो, नारायण सुवेदीद्वारा लिखित '१०० दिन माओवादी कब्जामा' । त्यसमा मैले क्याप्सन यस्तो लेखेको रैछुं: हिजोदेखी नारायण सुवेदी द्वारा लिखित '१०० दिन माओवादी कब्जामा' पढिराछुं । कतिपय स्वतन्त्र लेखकको भन्दा राम्रोसग सबै पक्षको बारेमा लेखेको पाइयो यो किताबमा । स्वतन्त्र विश्लेषण भन्न मिल्ने रैछ ।
यो किताबको विशेषता भनेकै कसैलाई गाली पनि नगरी र कसैलाई ताली पनि नदिइ घटना र परिस्थितिको विश्लेषण गर्नु हो । यो किताब मैले दाजु हरक सिंह धामीबाट ल्याएर पढेको हुं, र एकचोटी पढेपछि किनेको हुं, संग्रह गर्न लायक किताब ठानेर ।
|
|
कुमार नगरकोटीको अखबारी लेखनको नियमित पाठक भएकोले होला उहाको यो 'मोक्षान्त काठमान्डु फिभर' पढ्न मन लाग्यो । साथी उपेन्द्रराज पाण्डेयले यो किताब उपलब्ध गराउनु भएको थियो । फिक्सन डिजाइनर नगरकोटीको 'पंखा' भएकोले यो किताब साह्रै मन परेको हो, र नगरकोटीको डिजाइनले झनै तानेको पनि भन्न मिल्छ । हाल नगरकोटीको 'मिस्टिका'को कालो बिरालो मेरो सिरानीमा बसेको छ । |
|
'समर लभ'को 'बिछडा हुवा प्यार ...' ले रन्थनाएको थियो । त्यसै मेसोमा रत्न राज्यलक्ष्मी क्याम्पस को एक अन्तरकृया कार्यक्रममा सुविन भट्टराईलाई अनुरोध गरियो, दाजु प्रेम अधुरो सह्यो सिक्वेल आओस् । नभन्दै भट्टराई दाजैले ल्याइहाले 'साया' । बजारमा आएलगत्तै मेरो हातमा पनि आइहाल्यो, तर तबसम्म 'समर लभ' भने कहिल्यै नर्फकने गरी गइसकेको थियो । एउटा साथिले लगेर 'समर लभ' गायबै गरे, फिर्ता देउ भन्न पनि लाज लाग्ने ! अनि आफैलाई भनेः इस खाइस्, खाजा कटाएर किनेको किताब गयो नि ।
|
धेरै कुरा सम्झाइदिनुभयाे दाइ । मैले नि नाेट नगरेका कतिपय यस्तै सम्झना किताब कतै थन्किरहेका थिए । एकदमै अाभार प्रकट गरे दाइकाे याे प्रयासलाइ ।
ReplyDeleteThanks for reading n responding ...
ReplyDelete