जयसिंह महरा
काठमाडौं : हरेक वर्षको रक्षाबन्धन लेखक भुवनहरि सिग्देलको जीवनमा आँसु बोकेर आउँछ।
२०५० सालपछिका रक्षाबन्धनमा उनले दिदीबहिनीबाट डोरो बाँधेर हर्ष
मनाउने सामग्री जोडजाम गर्न पाएनन्। त्यस दिन उनी आफूलाई टुहुरो बनाएर
जाने 'आमोई' को श्राद्धका लागि
सर्जाम जुटाउँछन्, धमिला आँखा लिएर।
रक्षाबन्धनको दिन भुवनहरि आमोईको श्राद्ध गर्छन्, आँसु बगाउँदै। २०५० सालको रक्षाबन्धनको दिन
आमोईले भुवनलाई 'टुहुरो' बनाएर गएकी थिइन्। भुवनहरिका बुबा २०२२ सालमै भौतिक संसारबाट बिदा भएका थिए। १५
वर्षका जेठा छोरा भुवनहरिमाथि स-साना ४ भाइबहिनी हुर्काउने जिम्मा आइपर्यो।
'म मरेको दिनमा मात्र तिमीहरुले बाबु मरे
भन्ठान्नू', उतिबेला आमोईले भनेको कुरा
भुवनहरि आज पनि झल्झली सम्झिन्छन्। गएको रक्षाबन्धनको पर्सीपल्ट भुवनहरि आमोईलाई आँसुको तर्पण दिँदाको पीडा
थाहाखबरलाई सुनाउँदै थिए।
'बुढेसकाल' मा लेखन
भुवनहरिका कृति त्यति चर्चामा छैनन्। जब उनको पछिल्लो कृति 'आमोई' मदन पुरस्कारको श्रेष्ठ सूचीमा पर्यो, बल्ल उनको चर्चा हुन थाल्यो। ४६ वर्षको उमेरमा २०५४ सालमा उनको पहिलो
कृति प्रकाशित भएको थियो। त्यसअघि उनले जे जति लेखे, जागिरका क्रममा
सरकारी फाइलमा लेखे।
'मेरा लेखनका कहानी सुनाउन थाल्यो भने त घण्टौँ
लाग्छ', ढाकाटोपी मिलाउँदै भुवनहरि मुस्कुराए, 'कसरी लेखक भएँ भन्ने चाहिँ सुनाउँछु।' २०५४ सालको जेठ
महिना। भर्खर गहुँ काटेको दहचोक फाँटमा भुवनहरि गाई चराउँदै थिए।
बाटो हिँड्दै गरेको एक व्यक्ति उनको नजिकै आएर खेतको डिलमा बस्यो।
हातमा झुन्ड्याएको ट्यांका बिसायो, शिरबाट टोपी निकाल्यो र पसिना पुछ्यो।
त्यसपछि गोजीबाट बिँडी झिकेर सल्कायो।
'मलाई त्यो मान्छे अलि अजिबको लाग्यो', करिब दुई दशकपछि भुवनहरि सानेपास्थित आफ्नो घरमा हातका औँला भाँच्दै
त्यो अजिबको मान्छे सम्झिँदै थिए। नजिकै गएर भुवनहरिले उसको नाम सोधे, बस्ने ठाउँ सोधे, कहाँबाट आएको हो सोधिखोजी गरे। विवाह गरेर
परदेश लागेको ऊ १२ वर्षपछि कलकत्ताबाट घर फर्किँदै थियो। 'बाउ आमा मरिसके
होलान् हजुर। श्रीमती नि पोइल गइहोली', बिँडीको धुवाँ
उडाउँदै उसले भनेको थियो। 'त्यो घटनाले मलाई छोयो। उसको १२ वर्षको
कमाई त्यही ट्यांका थियो', उनले सम्झे।
त्यो दरबानको दुर्दशाले भुवनहरिलाई लेख्न प्रेरित गर्यो। त्यसपछिको दुई महिनामा खण्डकाव्य तयार भयो- आर्तनाद।
'यो बुढेसकालमा मलाई समाजका दुःखी पात्रहरुले लेखक बनाए', उनले भने।
जागिर अर्थात जीवन निर्वाह
उनी १५ वर्षको छँदा बुबाको निधन भएपछि आर्थिक जोहो गर्ने जिम्मा
उनीमाथि आयो। चार भाइबहिनीका दाजु भुवनहरिले जिन्दगीमा धेरै खालका काम गरे। 'कति खाइयो, कति छोडियो', जागिरे जीवनबारे
उनको प्रतिक्रिया छ।
एसएलसीपछि उनले मास्टरी गरे। तलब थियो दिनको एक मोहोर। त्यतिबेलाको एक
मोहोर हिजोआजको ५०० रुपैयाँ बराबर हुन्थ्यो। स्थानीयबासीले चन्दा उठाएर त्यो रकम
दिन्थे। उनी अंग्रेजी बाहेक सबै विषय पढाउँथे।
त्यसपछि केही समय विद्यालय निरीक्षक भएर काम गरे। कार्यक्षेत्र थियो
पाँचथर। न गाडी, न टेलिफोन। इलामबाट हिँडेर जानुपर्थ्यो। दशैँ
बिदामा घर आएका उनी फर्केनन्। बरु शिक्षा कार्यालय पाँचथरमा भुवनहरिको सट्टा एउटा
चिठी गयो, जसमा थियो उनको राजीनामा।
'घरमा भर्खर जन्मेको छोरो थियो, जहान थिइन्', उनी मुस्कुराए, 'छोडेर जान मन मानेन।' यो २०३० सालको कुरा थियो। जागिर छोड्नु र खानु जीवन निर्वाहसँग
जोडिएको थियो।
विद्यालय निरीक्षकको जागिर छोडेपछि उनले फेरि जागिर खोज्न थाले। हात
पर्यो मास्टरी नै। लगनखेलको एक उच्चमाविमा केही दिन पढाएर उनले त्यो जागिर छोडे।
त्यसपछि उनले तथ्यांक विभागमा कोडरको जागिर पाए। ६ महिना घरेलु
उद्योगका उत्पादन वर्गीकरण गर्ने काम गरेपछि उनलाई कम्प्युटर
केन्द्रका अध्यक्ष केशरबहादुर आचार्यले सिंहदरबारमा जागिर
मिलाइदिए। भर्खर खुलेको सरकारी कम्प्युटर केन्द्रमा नायब सुब्बा पदमा काम थालेका
उनले २०५४ सालमा अवकाश पाए। तत्कालीन सरकारले केन्द्र खारेज गरेपछि उनी फेरि 'बेरोजगार' भए।
त्यसपछि भेटिएको थियो त्यो अजिब मान्छे, जसले उनलाई लेखक
बन्ने प्रेरणा दियो।
किताबका लागि २ रुपैयाँ डिपोजिट
छन्दमा बढी कलम चलाउने यी लेखक पाएजति सबैखालका पुस्तक पढ्छन्। उनले
किताबको र्याक देखाउँदै भने- सुरु सुरुमा हिन्दी जासुसी उपन्यास पढेँ।
उनका अनुसार
पहिले पहिले काठमाडौंमा हिन्दी उपन्यासको खुब
बोलबाला थियो।
रञ्जना पुस्तक पसलमा २ रुपैयाँ डिपोजिट राखेपछि २ दिनका लागि एउटा
किताब पाइन्थ्यो। किताब फिर्ता गर्दा १ मोहोर काट्थ्यो। २ रुपैयाँ नसकिउन्जेल
किताब पाइन्थ्यो।
जब डिजोजिट रकम सकिन्थ्यो, फेरि २ रुपैयाँको
चक्र सुरु हुन्थ्यो।
'त्यसरी किताब पढ्दा पागल भइन्छ भनेर घरमा गाली
गर्थे', उनले सम्झिए।
खकुरेलको खप्की
उनको पहिलो कविता कृति 'आर्तनाद' छन्दमा थियो। त्यो बेला एक हजार प्रति छाप्नु झन् चानचुने कुरा थिएन।
'मै हुँ भन्नेले पनि एक हजार प्रति किताब छाप्न
गाह्रो थियो', उनी भन्छन्, 'म त भयंकरै लेखक भएँ
भन्ने लाग्यो।'
साथीहरुले 'गज्जब लेख्नुभएछ'
भन्दा
आफू ठूलै लेखक भएको भान परेको उनले सुनाए। 'मैले छन्द बुझेकै
रहेनछु', उनले भने, 'सानोमा पढेको
महाभारत, गीता, भागवत, पुराण लगायतका किताबका आधारमा लेखेको रहेछु।'
एउटा साहित्य पत्रिकाका सम्पादकले उनको भेट छन्द कवि रमेश खकुरेलसँग
गराइदिएपछि बल्ल उनको वास्तविक छन्द यात्रा सुरु भयो।
ती सम्पादकले 'ठूला कवि' भन्दै परिचय दिएर
खरेलको हातमा उनको खण्डकाव्य 'आर्तनाद' थमाएछन्।
एकछिन घोरिएर पाना पल्टाएपछि किताबले हान्दै उनी कड्किएछन्- ‘यस्तो वाहियात कविता पनि लेख्ने हो? दुनियाँलाई छन्द
नलेखेर भा’को छ। तिमीलाई नै किन लेख्नुपर्ने?’
कमलपोखरीमा खाएको रमेश खकुरेलका खप्की र छन्द लेखनका उनले दिएका टिप्स
अहिले पनि लेख्ने क्रममा आइरहने उनी बताउँछन्।
'डल्ले'को नागरिकता
साहित्य बजारमा भुवनहरिका कृति त्यति चर्चामा छैनन्। 'आमोई' मदन पुरस्कारको श्रेष्ठ सूचीमा परेपछि पाठकहरु उनका पुराना कृतिबारे जान्न खोज्दै छन्। 'विषय पनि त्यस्ता होउन्, जसलाई नाम चलेका
लेखकले नगिजोलेको होस्', ६६ वर्षीय भुवनहरि यस्ता विषय खोज्न
घुमिरहन्छन्।
झोलामा क्यामेरा र डायरी बोकेर एकदिन उनी लेखनको खजना खोज्न निस्किए।
मोटरसाइकललाई उनी 'यात्राको प्रिय साथी' भन्छन्। 'होटलमा चिया पिउन बसेको थिएँ। एउटा परिवार
आँपको रुखमुनी छाप्रोमा बसेको देखेँ। त्यहाँ सानो शिशु पनि थियो', उनले सम्झिए। लेखकलाई अरु के विषय चाहियो? भुवनहरिलाई त्यो दृश्यले
छोयो।
उनले छाप्रोबारे सोधखोज गरे। डल्लेको दोस्रो पुस्ता रहेछ त्यो
रुखमुनी। 'उसकी आमाले डल्लेलाई त्यही रुखमुनी जन्म दिएकी
रहिछन्', उनले सुनाए।
भुवन र डल्लेको कुराकानी भयो।
'किन यहाँ बसेको?' 'के गर्नु त हजुर!
आमाले जन्म नै यै ठाउँमा दिनुभयो। बाबाको पत्तो छैन।'
'पैसा कमाएर कतै सानो घर बनाएर बसे हुन्थ्यो नि!'
'नागरिकता छैन हजुर, काँ घर बनाउनु?' डल्लेको कथाले भुवनहरि तनावमा थिए। उनले डल्लेको नालीबेली टिपे अनि
काठमाडौं फर्के।
डल्लेको जीवन, उसकी आमाका कष्ट र उसको छोराको भविष्य
कवितामा उनियो।
दुई महिनापछि फेरि मोटरसाइकल हुइँक्याएर उनी धादिङको कुम्पुर पुगे।
डल्ले आफ्नै काममा व्यस्त थियो। उसलाई नुहाँइधुवाइ गरेर तयार हुन भने। डल्ले दंग
पर्यो।
डल्लेलाई मोटरसाइकलको पछाडि राखेर उनी लागे धादिङको सदरमुकाम
धादिङबेसी। २०५८ साल डल्ले एउटा कार्यक्रमको प्रमुख अतिथि बनाइयो। अतिथि बने
प्रमुख जिल्ला अधिकारी।
कार्यक्रम थियो 'डल्ले' खण्डकाव्यको विमोचन। प्रमुख जिल्ला अधिकारीलाई भुवनहरिले माइकबाटै भने- 'सिडियो साब, यो डल्ले कुनपुरमा जन्मको हो। बाउको पत्तो
छैन। आमा यहीँ छन्। यो मान्छे नेपाली नागरिक हो भनेर यहाँ उपस्थित हामी सबै हस्ताक्षर
गर्छौँ, तपाईँ नागरिकता दिनुहोस्।'
'म नागरिकता दिन्छु, हस्ताक्षर गर्न
पर्दैन' सिडियोले यति भनेपछि हलका सबै खुसी भए। सबैभन्दा
खुसी डल्ले थियो जो नेपालको नागरिक भयो।
डल्लेले नागरिकता पाएपछि आफ्नो लेखनले सार्थकता पाएको अनुभव भएको
भुवनहरि बताउँछन्।
आमोई लेखन
'छाङ्गाछुरे भीरको उकाली चढेर देउरालीमा पुगेपछि
तलको महाभीरतिर हेर्दा जसरी यात्रु कहालिन्छन्, मेरो जीवनयात्रा
त्यस्तै लाग्छ मलाई। त्यो दुष्कर यात्रा कसरी पार गरेँ? अहिले सम्झना गर्दा
पनि मुटु हल्लिन्छ।' पृ. १९।
आमोईको जीवन अनुभव हो यो।
आमोईलाई आफैले भोगेको जीवन डरलाग्दो बन्यो, जब उनी जीवनको
अन्तिमतिर पुगेर आफैलाई फर्केर हेर्न थालिन्।
भुवनहरि सिग्देलकी आमा मीनकुमारी आमोईकी बहिनी हुन्। आमोईको बिहे
भुवनहरिका ठूलाबुबासँग भएको थियो। दिदीबहिनीको एउटै घरमा बिहे भएको थियो।
भुवनहरिको पालनपोषण सानैदेखि आमोईले गरिन्। आमोईको वास्तविक नाम
रोमकुमारी हो। उनको ७६ वर्षे जीवनयात्रा भुवनहरिले उनकै मुखबाट भन्न लगाएका छन्।
'आमोईबारे पहिले पनि दुईवटा निबन्ध लेखिसकेको थिएँ', आमोईमाथिको लेखनबारे उनले भने, 'निबन्ध पढ्ने
साथीहरुले आमोईको जीवनी लेख्न सुझाव दिएपछि लेख्नपर्यो भन्ने लाग्यो।'
आफूलाई जिउन सिकाएकी आमोईबारे लेख्न सजिलो भने थिएन उनलाई। 'लेख्दालेख्दै धेरैपटक रोकिन्थेँ, बाथरुम जान्थेँ। मुख
धुन्थे। टहलिन्थेँ। चुरोट खान्थेँ। खुब तनाव हुन्थ्यो', भुवनहरि भावुक बने, 'लेख्ने क्रममा आमोईको यादले बारम्बार आँखा रसाए।'
मदन पुरस्कार सूची र आमोईको याद
तेस्रो संस्करण प्रकाशनको तयारीमा रहेको पुस्तक 'आमोई' मदन पुरस्कारको श्रेष्ठ सूचीमा परेपछि
उनलाई धेरैले फोन गरे। पाठकले अक्सर भन्छन्- कसरी यति जीवन्त लेख्न सक्नुभयो? मैले पढ्न सकिनँ।
पुरुषभन्दा बढी महिलाका फोन आए। 'महिलालाई बढी छुँदो
रहेछ', उनी भन्छन्, 'अरुलाई रुवाउनु
स्वभाविकै हो किनभने आमोईको यादमा म पनि त रोइरहेको छु।'
मदन पुरस्कार सूचीमा छनोट गर्नेहरुलाई पनि आमोईको भावनात्मक पाटोले
छोएको उनको अनुमान छ। 'उनीहरुलाई पनि छोयो होला र त छनोट गरे', उनी भन्छन्।
उनका कविता कृति कमै बिक्छन्। चर्चा पनि कमै हुन्छन्। तर उनको अध्ययन
कक्षका र्याकको धेरै भाग भने उनकै कृतिले भरिएको छ। 'मलाई मेरा छन्द १०
जनाले पढिदिए मात्र पुग्छ', उनी भन्छन्।
भुवनहरि 'आमोई' जस्ता प्रेरणादायी र
जीवन्त पात्रका कथा अझ लेख्नुपर्ने बताउँछन्। 'मेरी आमोईजस्ता
धेरैजनासँग जीवन हुन्छ, प्रेरणा हुन्छ तर कलम हुँदैन', उनी भन्छन्, 'उनीहरुका कथा हामीले लेखिदिनुपर्छ। जसले
उनीहरुको सीप, सहानुभूति र सम्वेदना बुझ्न सक्छ, उसले आमोईहरुको कथा लेख्नुपर्छ।'
'आमोईसँग जीवन छ तर कलम छैन, हामीले लेख्नुपर्छ उनका कथा'
Reviewed by https://www.jayasinghmahara.com.np/
on
November 29, 2016
Rating:
No comments: