- जयसिंह महरा
'मानसिक छाउगोठ नभत्काई हट्दैन छाउप्रथा'
काठमाडौं : हिउँदको महिना कञ्चनपुरको आकाशमा घाम देख्न पाइँदैन।
जाडोले शरीर कठ्यांग्रिन्छ। यस्तै जाडो महिनामा लेखक राज सरगमकी मामाकी छोरी
पहिलोपल्ट महिनावारी अर्थात् ‘छाउ’ भएर उनको घर आइन्।
लुक्न पठाइएकी उनले फुपूको घरभित्र बास पाइनन्। शरीरमा न राम्रा लुगा थिए, न त न्याना ओढ्ने ओछ्याउने नै। राजले आमालाई बहिनीका लागि न्याना लुगा
दिन र भित्रै सुत्ने व्यवस्था गर्न आग्रह गरे। बदलामा आमाको हप्काइ पाए।
२० वर्ष पहिलेको त्यो पीडा लेखकको मनमा अहिले पनि छचल्किन्छ। त्यही
विषय समेटेर उनले उपन्यास लेखे, जुन ‘छाउघर’का नामबाट बाहिर आयो। अहिले नेपाली
साहित्यका दुई ठूला पुरस्कार मदन पुरस्कार र पद्मश्री साहित्य पुरस्कारको श्रेष्ठ
सूचीको मनोनयनमा परेको छ। लेखनका माध्यमबाट छाउपडीप्रथाविरुद्ध आवाज उठाइरहेका
राजले शुक्रबार थाहाखबरसँग उपन्यास लेखनका बेला देखे भोगेका अनुभव बाँड्दा पनि
मामाकी छोरीलाई सम्झिए। उक्त घटनाले पीडा दिनुका साथै छाउपडीबारे जान्ने र विरोध
गर्ने चाहना जगायो। त्यो पीडाले निकासको बाटो खोज्यो, आख्यानमार्फत।
बसाइँसराइसँगै तराई झरेको छाउपडी
महिला रजस्वला र सुत्केरी भएका बेला घरबाट टाढा राखिने तथा कुनै सामान
छुनु हुँदैन, छोए देवता रिसाउँछन् र घरमा नराम्रो हुन्छ भन्ने
अन्धविश्वास छाउपडी प्रथा हो। रजस्वला र सुत्केरी भएका बेला महिलाहरुलाई घरबाट
टाढा राख्न बनाइने झुपडीलाई छाउघर भनिन्छ। यो घरमा महिलाहरू रजस्वला भएको बेला ७ दिन र पहिलोपटक हुँदा १ महिनासम्म बस्नुपर्ने
चलन छ।
कञ्चनपुर जहाँ राज सरगम जन्मिए र छाउपडी प्रथा देखेरै हुर्किए। छाउपडी
प्रथा नमान्ने थारु समुदायको थातथलोमा बिस्तारै पहाडका जिल्लाबाट बसाइँ सरेर
आउनेहरूको बाहुल्य बढ्दै गयो। त्यसरी तराई झर्नेले आफूसँगै छाउपडीजस्तो कुप्रथा
ल्याए। उनीहरू अधिकांश सम्पन्न परिवार नै हुन्थे।
बसाइँसराइसँगै तराईमा नयाँ घर मात्रै थपिएनन्, बारीको छेउमा स-साना झुप्रा पनि तयार पारिए। ती छाउघर महिनावारी भएको
बेला छोरी, बहिनी, श्रीमती, आमालाई बस्न तयार पारिएका थिए। कञ्चनपुरको पुनर्वास नगरपालिकामा बर्सेनि सम्पन्न छिमेकी थपिँदै गरेको देखेका राजले भने, ‘तराईतिर झरेकाले बारीमा छाउगोठ बनाए। नयाँ ठाउँमा आएर बस्दा पनि 'छाउपडी' सँगै लिएर आए।’
छाउघरकी 'कला' अर्थात् मामाकी छोरी
मामाकी छोरी पहिलोपटक महिनावारी भएर राजको घर आउँदा उनको उमेर १३
वर्षतिर बढ्दै थियो। पहिलोपटक छाउ भएकी उनी फुपूको घरमा लुक्न आएकी थिइन्। अहिले
पनि राजलाई बहिनीको त्यो अवस्थाले पिरोल्छ। हातको इसाराले बहिनीका खुट्टाको नाप
बनाउँदै उनले भने, ‘उसका खुट्टा मसिना थिए। घुँडासम्म पुग्ने 'हाफ प्यान्ट' लगाउँथिन्। त्यो लगाउनुअघि कपडाको पोको जाँघमा हाल्थिन्, प्याड थिएन।’
उनी १५ दिनसम्म राजकै घरमा बसिन्। त्यो अवधिमा उनका दाजुभाइ कोही पनि
आएनन्। बुबा र बाजे त आउने कुरै भएन। बहिनीसँग कुरा गरिदिने, बेलाबेलामा खानेकुरा र पानी दिने काम राजले नै गरे। बेलाबेलामा राजले
भन्थे ‘तिमी घर जाउ।’ ‘घरमा भाइले देख्छ’ बहिनीले भन्थिन्। राजले आमालाई बहिनीका लागि न्यानो कपडा र भित्र
सुत्ने व्यवस्था गर्न भन्दा आमा धेरै जान्ने नहोउ भन्दै हप्काउँथिन्। यही घटनालाई टिपेर राजले २०६८ सालतिरबाट उपन्यास लेखन सुरु गरे। ‘छाउघर’की पात्र बनाए- कला, जो कक्षा ६ मा पढ्दा महिनावारी हुन्छे।
१२ वर्षसम्म बाजे र बज्यैको
लाडप्यार अनि बाबा आमाको माया ममता पाएकी उनलाई २२ दिनका लागि छाउघर पुर्याइन्छ।
वास्तविकतामा बहिनीका भाइहरू भेट्न नआएझैं उपन्यासमा पनि कलाको भाइलाई उनीसामुन्ने
जानै दिइन्न। त्यसैले उपन्यास आफ्नै घरको र घरघरको वास्तविकता रहेको राजको भनाइ छ।
उनी भन्छन्, 'यो मेरो घरको वास्तविकता हो, घरघरको वास्तविकता हो।'
समाजबाट टिपिएका पात्रहरू
उपन्यास लेख्नका लागि अनुसन्धानका क्रममा डडेल्धुरा पुगेको अनुभव
सुनाए राजले। त्यहाँ १७ वर्षीया युवतीसँग पहिलो महिनावारीको अनुभव भन्न आग्रह
गर्दा उनले खप्की खानुपर्यो। ती युवतीका दिदी र साथीहरूले ‘केटा मान्छे भएर पनि यस्ता कुरा सोध्न लाज नमान्ने’ भन्दै गाली नै गरे। राजले बढी नै आग्रह गरेपछि ती युवतीले अनुभव
सुनाइन्।
११ दिन गोठमा बसेकी उनलाई पोषिलो खानेकुरा र न्यानो ओढ्ने ओछ्याउने
दिइएन। घास काट्न लगाइयो तर दूध, दही, मोही हेर्नसम्म
दिइएन। उनले राजसँग भनेकी थिइन्, ‘घाँस काटेर ल्यायो त्यसलाई सुनपानी र
गहुँत हालेर चोख्याएर गाइवस्तुलाई खुवाउँछन्।’ यही विषयलाई राजले
उपन्यासको प्रमुख पात्रमा जोडे। उनकी प्रमुख पात्र कलाले दूध हालेको चियासम्म
पाउँदिनन्। कोही महिनावारी भएका बेला घाँस काट्न वन जान्छन् तर गोरसको मुख देख्न
पाउँदैनन्।
‘जाडो महिनामा उनी छाउ भएकी रहिछन्। गतिलो ओड्ने
छैन। खोलामा नुहाउन जाँदा केटाहरूले जिस्क्याउने। कपडा अलग्गै सुकाउन पर्ने',ती युवतीको बयान राजले सारमा सुनाए, 'खाना खाने थालहरू
छुट्टै बनाइदिने चलन रहेछ।’
कञ्चनपुरको भानुबस्ती, जहाँ सुत्केरी भएकी महिलालाई उनकी सासूले शौचालय प्रयोग गर्न दिइनन्।
चर्पीमा झर्ने रगत पखाल्ने मान्छे नभएको सासूको भनाइ रहेछ,
‘तैँले
धारो छुन हुँदैन, पानी दिने मान्छे छैन।’ ती सुत्केरी महिलाले
प्रयोग गरेका प्याड र कपडा पनि घरमा धुँवा नआउने गरी खेतमा गएर जलाउन दबाब दिइछन्।
ती सुत्केरी महिलालाई आँगनको र बारीको माटोमा टेक्न समेत नदिएको देखेका रहेछन्, राजले। उनका लागि इँटा बिछ्याइएका थिए। माटोमा टेके अपवित्र हुने
भन्दै इँटामा मात्रै टेकेर उनले हिँड्नुपर्ने रहेछ।
अछामबाट कञ्चनपुर झरेकी एक वृद्धाको अनुभवमा उनी पहिलोपल्ट छाउ हुँदा
महिनादिनसम्म वनमा लुक्नुपर्ने र राति सुटुक्क गोठमा आएर लुक्नुपर्थ्यो। छाउघरमा
रहेका महिलामाथि पुजारीले यौन शोषण गरेका कुरा आफ्नै आँखाले देखको र पुरुषहरू
त्यहाँ गएर रात बिताएको राजले आफ्नै आँखाले देखे। घामको उज्यालोमा मन्दिरमा बसेर
धर्मको दुहाइ दिएर महिनावारी भएकी महिलालाई छाउघरमा पठाउने पुजारी नै रातिराति
छाउघरमा यौनपिपासु बनेर जाने कुरा उपन्यासमा पनि राखे।
कुलदेवताको भ्रम
महिनावारी नबारे देउता रिसाउने मान्यता व्याप्त छ। घरघरमा ढुंगाको
कुलदेवता मान्ने समाजले महिलालाई भने महिनैपिच्छे हप्तादिन छाउघरमा राख्छ।
महिलालाई ज्यान जोखिममा राखेर छाउघरको यातना दिने समाजले देवताका नाममा त्यसो
गरेकोलाई आक्रोशमिश्रित स्वरमा राज भन्छन्, ‘भ्रम, सबैभन्दा ठूलो भ्रम हो।’
‘कुलदेवताका लागि छाउपडी मान्या हो त, भगवानका लागि हो त छाउपडी मानिएको?’ उनी प्रश्न गर्छन्। कुलदेवता राखिएको कोठा छाडेर अर्को कोठमा बस्ने
व्यवस्था गर्नु सकिने हुँदाहुँदै भगवान् र पूजाका नाममा छोरीबुहारीलाई मारिएको राज
बताउँछन्। उनी केही दिनपहिलेको घटना सम्झिँदै भन्छन्, 'अहिले भर्खर दैलेखमा
छोरीलाई जबरजस्ती गोठमा पुर्याइयो र सर्पले टोक्दा मरिन्।’
‘ढुंगाको देवताका निम्ति मान्छेको ज्यान गइरहेको छ’ राज भन्छन्, ‘मान्छेले मानेको देउता हो, जब मान्छे नै हुन्न भने त्यो देउता के देउता हुन्छ। देउता
हुनलाई त मान्छे चाहियो।’
छाउप्रथाको अन्त्यको विकल्प: विद्रोह र शिक्षा
उपन्यासकी प्रमुख पात्र कला २२ दिन छाउगोठमा बिताएर घर फर्किन्छिन्।
सुरुमा जबरजस्ती छाउगोठ पुर्याइएकी उनी फर्किँदा भने बाजेविरुद्ध विद्रोह
गर्छिन्। बाजेले चोख्याउन भन्दै टीका लगाउन खोज्दा कलाले अस्वीकार गर्छिन्।
उपन्यासको यो 'क्लाइमेक्स'ले अबको पुस्ताले
छाउप्रथा विरुद्ध गरोस् भन्ने चाहना आफूले राखेको लेखक राजले बताए। तर एनजीओ र
आइएनजीओले चलाएको अभियानले छाउप्रथा उन्मुलन हुन्छ भन्ने पटक्कै विश्वास छैन। यसको
निर्मूल गर्न आम दिदीबहिनीलाई शिक्षा दिनुपर्ने उनको भनाइ छ। उनी भन्छन्, ‘एउटी केटी कक्षा ६ मा पढ्नेबेला महिनावारी हुन्छे, उसलाई स्नातक पढ्ने बेलामा मात्र छाउपडी प्रथाबारे
शिक्षा दिइन्छ।’
छाउपडीविरुद्ध महिलाहरूमा प्रेमपूर्वक विद्रोह गर्नसक्ने क्षमता रहेको
उपन्यासकार राजको बुझाइ छ। उनी भन्छन्, ‘अब प्रत्येक
दिदीबहिनीले विद्रोह गर्नुपर्छ। हामी पुरुषहरूले भन्दापनि स्वयं महिलाहरूले, त्यो पनि पढेलेखेका महिलाहरूले गर्नुपर्छ।’ छाउपडी अन्त्यका
लागि अभिभावकले पनि छाउपडी विरुद्ध वकालत गर्नुपर्ने बेला भएको छ। राज भन्छन्, ‘अब प्रत्येक बच्चाले विद्रोह गर्नुपर्छ। मेरो घरमा छोरी छ मैले यत्रो
लेखेको छु मेरो छोरीले विद्रोह गर्न आवश्यक नपरोस्, उसले स्वतः मेरो घरम
छाउपडी छैन भन्ने बुझोस्।’
छाउपडीविरुद्ध महिलाहरूमा प्रेमपूर्वक विद्रोह गर्नसक्ने क्षमता रहेको
उपन्यासकार राजको बुझाइ छ। उनी भन्छन्, ‘अब प्रत्येक दिदीबहिनीले
विद्रोह गर्नुपर्छ। हामी पुरुषहरूले भन्दापनि स्वयं महिलाहरूले, त्यो पनि पढेलेखेका महिलाहरूले गर्नुपर्छ।’ छाउपडी अन्त्यका
लागि अभिभावकले पनि छाउपडी विरुद्ध वकालत गर्नुपर्ने बेला भएको छ। राज भन्छन्, ‘अब प्रत्येक बच्चाले विद्रोह गर्नुपर्छ। मेरो घरमा छोरी छ मैले यत्रो
लेखेको छु मेरो छोरीले विद्रोह गर्न आवश्यक नपरोस्, उसले स्वतः मेरो घरम
छाउपडी छैन भन्ने बुझोस्।’
भत्काउनुपर्छ मानसिक छाउगोठहरू
राज सरगम छाउपडीविरुद्ध ‘छाउगोठ भत्काऊ, छोरीचेली बचाऊ’ कुनैबेला यस्तो नारा लगाउदै हिँडेको
सम्झन्छन्। उनी पुस्तक लेखनका लागि अध्ययनको क्रममा विभिन्न बस्ती पुगेका छन्। चार
वर्षको अध्ययनका क्रममा सुदूरपश्चिम र मध्यपश्चिमका अधिकांश जिल्ला र पूर्वका
विभिन्न समुदायमा महिनावारीबारेको बुझाइले उनी यो निष्कर्षमा पुगेका छन्, छाउगोठ नभत्काई छाउपडी अन्त्य हुँदैन।
छाउपडी अन्त्यका लागि पहिले ‘मानसिक छाउगोठ’ भत्काउनुपर्ने बेला आएको छ। काठमाडौंका रैथाने नेवार समुदायमा पनि पहिलोचोटी महिनावारी हुँदा पनि कि गुफामा राखिन्छ नभए आफन्तकोमा पुर्याइन्छ। विभिन्न जिल्लाबाट आएका काठमाडौंवासीले
आफूसँगै छाउपडी प्रथा पनि ल्याएका छन्।
सुदूरपश्चिम र मध्यपश्चिममा छाउगोठमा महिलाहरूको मृत्यु भइरहेको छ।
त्यसैलाई देखाएर एनजीओ र आइएनजीओले
‘सूदूरपश्चिम र
मध्यपश्चिममा छाउपडी छ, यसको अन्त्य छैन भन्ने
ट्याग’ लगाएकोमा राजको असन्तुष्टि छ। उनी भन्छन्, ‘त्यहाँ भौतिक गोठ भएकोले चर्चामा आयो।
मानसिक छाउगोठ त नेपालभरि छ नि!’
छाउगोठले मान्छे खाइरहेको छ। ती गोठहरू भत्काउनै पर्छ जसले
महिलाहरूलाई बस्न सुरक्षित ठाउँ अर्थात् घरसम्म ल्याउँछ। यसका लागि राज्य र
स्थानीय तहले पहल लिनुपर्छ। राज भन्छन्, 'छाउगोठ मात्रै
भत्काएर छाउपडी अन्त्य हुँदैन। यतिमात्र समाधान होइन, मानसिक गोठ भत्किनुपर्छ। गोठ त काठमाडौंमा छँदैछैन, तर यहाँ पनि छाउपडी प्रथा छ।’
उनी आफ्नो लेखनलाई त्यही मानसिक रूपमा
नेपालभर फैलिएको छाउगोठ भत्काउने अभियान ठान्छन्। ‘मैले जहाँजहाँ पाइला
टेकेको छु त्यतिमात्रै सुध्रिए पनि धेरै हो,’ उनी भन्छन्, ‘पुस्तकको मूल्याङ्कन छाउपडी नियन्त्रणले हुनेछ। समाजमा पार्ने
प्रभावले र आम दिदीबहिनीको वकालत गर्ने माध्यम बन्यो भने मेरो अभियानको सही
मूल्याङ्कन हुनेछ।’
जसले आफ्नै घरको छाउपडीको कथा उपन्यासमा उतारे
Reviewed by https://www.jayasinghmahara.com.np/
on
September 18, 2017
Rating:
No comments: